
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेकाले आज सोमबार पनि देशका धेरै स्थानमा वर्षा हुने बताएको छ ।
महाशाखाको भनाइमा बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेकाले मनसुनको गतिविधि सक्रिय भएको हो । साेमबार बिहान देशभर पूर्णतया बदली रहेको छ । सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।













