News Griha :: न्यूजगृह
काभ्रेमा सडक भासिएर पुरिएकी महिलाको उद्धार

काभ्रे— काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएकी एक ३० वर्षीया महिलाको उद्धार गरिएको छ ।

राजमार्गबाट उक्त सडकतर्फ हिँडिरहेका बेला अविरल वर्षाका कारण सडक भासिएपछि स्थानीय कान्छामाया तामाङ पुरिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले तामाङको उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल पुर्‍याएको हो । मुख र शरीरका अन्य केही भागमा चोट लागेको तामाङको उपचार भइरहेको परिवारले जनाएको छ ।

गाडीबाट घरतर्फ जाँदैगर्दा तामाङ पुरिएको बताइएको छ । अविरल वर्षाका कारण स्तरोन्नति भइरहेको राजमार्गको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डमा दर्जन स्थानमा पहिरो खसेका कारण यातायातका साधन आवतजावतमा कठिनाइ भएको छ ।

यसमध्ये पकुचादेखि धुलिखेलसम्मको क्षेत्रमा सबैभन्दा बढी जोखिम देखिएकाले मेशिनद्वारा पहिरो पन्छाएर आवातजावत सहज बनाइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

निर्माणाधीन सडकमा ढलको निकाश नहुँदा सडकबाटै पानी बगिरहेको छ भने सडक माथिबाट पहिरोसँगै लेदो खसिरहँदा निकै कठिनाइ भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०६:२१
Weather Update