News Griha :: न्यूजगृह
इन्द्रावतीमा पानीको बहाब बढेपछि हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक— शनिबारदेखि लगातार परिरहेको वर्षाका कारण इन्द्रावती नदीमा बहाब बढेसँगै मेलम्ची हेलम्बु सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । प्रहरीका अनुसार बाढीपहिराेका कारण मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडकमार्ग अवरुद्ध भएको हो ।

यसका साथै मेलम्चीबाट पाँचपोखरी थाङपाल गाउँपालीका जाने सडक पनि पाँचपोखरी थाङपाल–८ खाल्डे खोलामा बन्द भएको छ । मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडक मार्ग अवरुद्ध हुँदा मेलम्चीबाट ग्याल्थुम बीएड दोस्रो वर्षको परीक्षा दिन गएका विद्यार्थी बाटोमा अलपत्र परेका थिए ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बाढीको बहाब बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरे  । मेलम्ची नदीको मुहान देखिनै आएको बाढीमा २०७८ सालको जस्तो लेदो मिसिएर आएको हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनले बाढीमा लेदो मिसिएर आएकाले नदी आसपासमा नजान र सुरक्षित स्थानमा रहन तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अनुरोध गरे । यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले बाढीको  बहाब बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गर्दै आवातजावतका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०६:०९
Weather Update