
काठमाडौं— नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा भएको ७५३ वटै पालिकामा धर्ना कार्यक्रम सशक्त ढंगले सम्पन्न भएको बताएकी छिन् ।
महासंघको पहिलो चरणको आन्दोलनअन्तर्गत आइतबार शिक्षक तथा कर्मचारीहरूले ७५३ वटै पालिकामा धर्ना दिएका हुन् ।
सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो ।
धर्ना समापनपछि आइतबार साँझ सामाजिक सञ्जालमार्फत सबै पालिकामा धर्ना कार्यक्रम सशक्त भएकाले त्यसबाट ऊर्जा प्राप्त भएको जनाएकी छिन् । उनले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई आभार व्यक्त गरेकी छिन् ।
उनले भनिन्, ‘ने.शि.महासंघ राष्ट्रिय समितिको आयोजनामा प्रथम चरणको पहिलो दिनको ७५३ वटा स्थानीय पालिका धर्ना कार्यक्रम सशक्त ढंगले सम्पन्न भएको खबरले अझै ऊर्जा प्राप्त भएको छ । तसर्थ सम्पूर्ण प्रिय मित्रहरूलाइ हार्दिक आभार ।’
अध्यक्ष तुलाधरले यही साउन ३२ गतेसम्मको विरोध तथा धर्ना कार्यक्रममा सकृयता पूर्वक जुट्नु पनि सबैलाई हार्दिक अनुरोध गरेकी छिन् ।













