News Griha :: न्यूजगृह
भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : अध्यक्ष भट्टराई

भजनी— पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री डा.भट्टराईले संरचनागत रुपमा समिति बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको बताए ।

‘उच्च पदस्थहरुबाटै पनि धेरै ठूला भ्रष्टाचार भएका छन् । ती सबै तथ्य अझै बाहिर आउन सकेका छैनन्,’ उनले भने,‘दोषी कोही छुट्नु हुँदैन । निर्दोष फस्नु हुँदैन भन्ने हो । भ्रष्टाचार विरुद्धको छानबिन गर्ने छुट्टै समिति नै बनाउन सके त्यसले भ्रष्टाचारलाई न्यूनीकरण गर्नमा मद्दत मिल्नेछ ।’

सरकारले भ्रष्टाचारका विषयमा केही आशा लाग्दा काम गरेको भन्दै डा.भट्टराईले सन्तुष्ट भइहाल्नुपर्ने स्थिति भने नरहेको बताए । ललिता निवास जग्गा प्रकरणको प्रसंगमा डा.भट्टराईले कानूनले दोषी ठहर गरेमा आफू कारबाही भोग्न तयार रहेको बताउँदै छानबिन निष्पक्ष हुनुपर्ने बताए ।

उनले लोकतान्त्रिक गणतन्त्रको जगमा रहेर समाजवादीको दिशामा अगाडि बढ्नु अबको आवश्यकता भएको बताए । पूर्वप्रधानमन्त्री डा.भट्टराईले देशलाई अग्रगामी निकासका लागि सङ्गठन निर्माण अभियानलाई सुदृढ बनाउँदै नागरिकलाई त्यसको विकल्पका लागि तयार रहन आग्रह गरे ।

‘अब संरचनागत स्वरुप परिवर्तन हुनुपर्छ । केन्द्रमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति र प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउने व्यवस्था लागू हुनुपर्छ,’उनले भने,‘हिजो पनि हामीले त्यही कुरा उठाएका थियौँ । आज पनि त्यही कुरालाई जनतामाझ लिएर जाँदैछौँ । अबको आवश्यकता त्यही नै हो ।’

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २०:०५
Weather Update