
काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन् ।
आइतबार पार्टी संसदीय दलको बैठकस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका हुन् ।
उनले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताए ।
सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङबिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको बताए । उनले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शंका गर्नुपर्ने स्थिति बनेको पनि बताए ।
उनले भने, ‘यो सियो आएको होइन । एक क्विन्टल सुन आएको हो । अध्यागमन प्रशासन नमिलाइकन त्यो सुन नेपालभित्र छिर्नै सक्दैन । एअरपोर्टमा भएको सुरक्षा संयन्त्रलाई नमिलाएसम्म त्यो नेपालभित्र छिर्न सक्दैन । त्यसैले अब राजनीतिक नेतृत्वको संलग्नता छ, छैन योभन्दा अगाडि भन्न सकिदैनथ्यो । तर अब छानबिनमा धेरै उत्साह नदेखाएको कारणले राजनीतिक नेतृत्वमाथि पनि शंका गर्नुपर्ने स्थिति बनेको छ ।’
उनले सुन तस्करी प्रकरणको मात्रै नभई अन्य चर्चित घटनाहरूको पनि छानबिन हुनुपर्ने बताए ।













