शिक्षक कर्मचारीले दिए देशभरका पालिकामा धर्ना, शिक्षा विधेयक सच्याउन माग

काठमाडौं— नेपाल शिक्षक महासंघको अगुवाइमा आइतबार शिक्षक तथा कर्मचारीले देशभरका पालिकामा धर्ना दिएका छन् । महासंघको पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरूले ७५३ वटै पालिकामा धर्ना दिएका हुन् ।
सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका माग नसमेटिएको जनाएको छ ।
शिक्षक तथा कर्मचारीले बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म धर्ना दिएको महासंघले जनाएको छ । धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारीपत्र पालिकासमक्ष पेस गरिएको छ ।
कार्यक्रमको संयोजन महासंघ र आबद्ध संस्थाका पालिका समितिले गरे ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १८:०७













