
काठमाडौं— शिक्षाविद् डा.विद्यानाथ कोइरालाले अझै पनि प्रस्तावित शिक्षा ऐनको विधेयकलाई सर्वसम्मत् बनाउन सकिने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षाविद् कोइरालाले त्यसको लागि पहिलो काम संविधानविद्, स्थानीय सरकारको बारेमा जानकार, स्थानीय जनप्रतिनिधिबीच संवाद गर्नुपर्ने बताए ।
उनले भने,‘त्यो संवादमार्फत अनुुसूची ८ वा ९ अन्तर्गत काम लगाएको हो ? भनेर टुंगो लगाऔं । त्यसले एउटा बाटो दिन्छ । कसको भन्ने कुराको लडाइँ हराउँछ ? स्थानीय सरकारको छट्पटी हटाउँछ ।’
कोइरालाले शिक्षक महासंघ, हिसान, प्याव्सन, एनप्याव्सनका प्रतिनिधिहरु पनि छलफलमा बसनुपर्ने बताए । उनले भने,‘त्यो छलफलमा एकअर्कोसँग सहकार्य गर्ने डिजाइन हेरौं । काम गरौं । त्यसले पनि अर्को बाटो दिन्छ । त्यसमा खासगरी भौतिक स्रोत, मानवीय साधन, आर्थिक र प्रविधिको सहकार्यमा सघाउँछ ।’
उनले निजी विद्यालयलाई गुठीमा जाऊ भनेकोमा भएको विरोधबारे पनि छलफलबाटै सहमतिमा पुग्न सकिने विश्वास दिलाए । उनले भने,‘सार्वजनिक र निजी गुठीका साथी,निजी विद्यालयका साथीहरू बसेर हेर्यौं । सरकारका मान्छे पनि जोडिऔं । शुल्कको बारेमा पनि त्यहीँ टुंगो लगाऊँ । पालिकालाई पनि जोडौं । सहमतिमा पुग्न सकिन्छ ।’
उनले सबै राजनीतिक दलले निजी विद्यालयबाट पैसा खाएको दाबी गरे । उनले भने,‘सबै दलले निजी विद्यालयबाट पैसा खाएका छन्, अनि निजी विद्यालय नभएका दल पनि छैनन् । राष्ट्रका शीर्ष नेताहरु भन्न रमाउने मान्छेहरु, सबैले निजी विद्यालयका पैसा खाएका छौं भन्नुपर्यो अनि दोक्ला चरित्र हटाएर अब समस्या सल्टाउनुपर्छ भन्नुपर्छ ।’
उनले विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्ष अध्यक्ष हुने भन्ने हो भने त्यसले दलीयता ल्याउने टिप्पणी गरे । उनले भने,‘यो परस्पर विरोधी चिन्तन हो । शिक्षक महांघसको ढंगलाई सुदृढ गरौं । पार्टीहरु एकचोटी बसौं । समस्याको समाधान निस्किन्छ ।’













