News Griha :: न्यूजगृह
श्रीराम सुगर मिल्स सञ्चालन गर्न सरकारसँग माग

रौतहट— जिल्लाका उखु किसानहरूले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै ध्यानाकर्षण गराएका छन् । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका हुन् ।

आइतबार गडा चिनी मिल बचाउ संघर्ष समितिको तर्फबाट उनीहरूले सिंहदरबारस्थित उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल्स सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन् । 

श्रीराम सुगर मिल्स लिमिटेड २०७७ साल श्रावण ११ गतेदेखि बन्द गर्ने सूचना प्रकाशित भएको थियो । योसँगै ०८० श्रावण ४ गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेको घटनाप्रति किसानहरूको ध्यानाकर्षण भएको बताए । 

उनीहरूले उद्योग स्थापनाको समयमा स्थानीयहरूले भविष्यका लागि भन्दै जग्गा सहुलियतमा उद्योग खोल्न बिक्री गरेको र अहिले बन्द भएसँगै किसानहरूलाई दैनिकी चलाउन असहज भएको बताए । 

उनीहरूले अप्रत्याशित रुपमा गरिएको टेण्डर प्रक्रिया रद्ध गर्नु पर्ने, उद्योग सञ्चलनमा राज्य पक्षले आवश्यक समन्वय एवं सहयोग गरी सञ्चालन गर्नु पर्ने, उद्योगको नाम/स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाउनेलगायतका मागसहितको ज्ञापन पत्र मन्त्री रिजालाई बुझाएका छन् । 

उनीहरूले आफूहरूका माग नजरअन्दाज गरे जनसंघर्षका कार्यक्रम थाल्ने चेतावनी दिएका छन् । ज्ञापन पत्र ग्रहण गरेसँगै मन्त्री रिजालले सरकारको कानूनले भनेअनुसार मिल्स उद्योगको काम कारबाही अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:४२
Weather Update