News Griha :: न्यूजगृह
देशभर बिहानैदेखि वर्षाः सबैभन्दा बढी हेटौँडामा

काठमाडौं— देशको केन्द्रीय राजधानी काठमाडौंलगायत देशभरी बिहानैदेखि झरी परिरहेको छ ।

देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले देशभर भारी वर्षाका कारण जोखिम बढेपछि सतर्क रहन आग्रह गरेको छ ।

विभागले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरको हेटौँडामा वर्षा भएको जनाएको छ । हेटौँडामा १३९.२ मिलिमिटर (मिमि) वर्षा भएको छ । विभागका अनुसार १७४ वटा केन्द्रमा १० मिमिभन्दा बढी, ११४ वटा केन्द्रमा २५ मिमिभन्दा बढी, ४५ वटा केन्द्रमा ५० मिमिभन्दा बढी र ९ वटा केन्द्रमा १०० मिमिभन्दा बढी वर्षा भएको छ ।

विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक, दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । त्यस्तै, आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

रातको समयमा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै विभागले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:२२
Weather Update