अमेरिकाको हवाईमा डढेलोबाट ९३ जनाको मृत्यु, थप विवरण आउन बाँकी

काठमाडौं— अमेरिकाको हवाई टापुको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भएको हो ।
आगलागीमा परी कयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको भन्दै सर्वसाधरण आक्रोशित भएका छन् ।
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ । भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरू भत्किएका छन् । सयौँ विस्थापित भएका छन् ।
घटनामा दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको समाचारमा जनाइएको छ ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतिपूर्ण बनेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १७:०१













