अवरुद्ध पृथ्वी राजमार्ग पुन: सञ्चालन

तनहुँ— पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडक खण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आइतबार दिउँसोदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
आइतबार करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरो हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए ।
जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरो पन्छाइएको हो ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १६:४८













