
काठमाडौं— उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनीले न्यूनतम खाद्य भण्डारण गर्न कम्पनी असफल भएको बताएका छन् । उनले राष्ट्रिय खाद्य भण्डारणको मापदण्डअनुरुप खाद्ययवस्तु भण्डारण गर्न निर्देशन दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सव कार्यक्रममा सचिव मरासिनीले कम्पनीले दायित्व पूरा नगरेको तथा आवश्यक न्यूनतम खाद्य वस्तुसमेत भण्डारण गर्न नसकेकोमा गुनासो गरे ।
उनले भने, ‘सार्क र राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा न्यूनतम तहको खाद्यान्न डिपोजिट हुनुपर्छ, तपाईहरू त्यसमा फेल भैरहनु भएको छ, खै त्यो न्यूनतम लेवलको खाद्य सुरक्षा ? त्यो राख्नु पर्यो ।’
उनले विश्वभर खाद्य समस्या सबैभन्दा मुद्दाको रुपमा रहेको भन्दै खाद्य सुरक्षा कायम गर्न कम्पनीले वार्षिक लक्ष्य नै तय गरेर न्यूनतम तहमा राखिनु पर्ने खाद्य वस्तुको भण्डारण्न गर्न आग्रह गरे ।
सरकारले भनेको काम गर्नमा दुविधा नगर्न आग्रह गर्दै मरासिनीले कम्पनीका कर्मचारीले आवश्यक लक्ष्य अनुसारको कामसमेत नगरी भक्ताको गुनासो गर्दै हिँडेको प्रति भने आक्रोस व्यक्त गरे ।
उनले भने, ‘तपाईहरूले अहिले सरकारको आर्थिक अवस्था थाहा पाउनु भएको छ, आर्थिका मन्दीको अवस्था छ, सरकारको राजस्वहरू राम्ररी उठिराको छैन, त्यो बेला तपाईहरू चाहिँ आफ्नो तोकिएको कामको लक्ष्य निधारणको उद्देश्य पूरा गर्नु त कहाँ हो कहाँ हामीलाई यो भत्ता भएन, त्यो भत्ता भएन भन्नुहुन्छ, पहिला तपाईहरूले कम्पनीको उद्देश्यअनुसारको काम त गर्नुहोस्न ।’













