News Griha :: न्यूजगृह
खोलामा आएको बाढीले चार घर जोखिममा
फाइल तस्बिर

ताप्लेजुङ— अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ । 

बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार डम्बर धितालसहितका चार घर जोखिममा परेका छन् । बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएको हो ।

यस्तै, बाढीले दोभान र चाँगे जोड्ने खोलाको वारिपारि दुवैतर्फको सडक बगाएको उनले बताए । खोला किनारमा पर्ने दुवै तर्फको सडक बगाएपछि चाँगे दोभान सडक खण्डमा यातायात ठप्प बनेको छ । 

असार पहिलो साता मौवाखोलामा बाढी आउँदा खोला माथिको पुल जोखिममा परेको थियो भने सडक बगाएको थियो । प्रायः बर्सेनि आउने बाढीले दोभानवासीलाई समस्यामा पार्दै आएको स्थानीयले बताएका छन् ।

ताप्लेजुङमा गएरातिदेखिको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडकहरूमा यातायात सञ्चालनमा कठिनाइ भएका छन् ।  निरन्तरको वर्षाले पहिराको जोखिम रहेका क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:४८
Weather Update