पहिरोले बेँशीसहर-चामे सडक ठप्प

लमजुङ— पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँशीसहर–चामे सडक अवरुद्ध भएको छ ।
निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ ।
पहिरोका कारण सवारी साधन बाटोमै रोकिएका छन् । ‘तत्काल सडक खुलाउन असम्भव छ,’ उनले भने ।
सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङबासी मारमा परेका छन् । उक्त सडक खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १४:२५













