News Griha :: न्यूजगृह
पहिरोले हेटौँडा–काठमाडौंको छोटो दुरीका सबै सडक बन्द
फाइल तस्बिर

मकवानपुर— हेटौँडाबाट काठमाडौं आउने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । 

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा–भैँसे–भीमफेदी सडक खण्ड पहिरोको कारण अवरुद्ध भएको हो । 

भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दुरीमा पहिरो खसेकाले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । 

त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी–९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ । 

वर्षाका कारण पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।

कान्तिलोक पथ पनि बकैया गाउँपालिका–११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा–काठमाडौं जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:५५
Weather Update