News Griha :: न्यूजगृह
कतै झडप, कतै शान्तिपूर्ण

काठमाडौं —  १४ वर्षपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) र यसका आंगिक क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन केही छिटपुट घटनाबाहेक शान्तिपूर्वक भएको छ ।

उक्त चुनावमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको त्रिविका कल्याणकारी तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । उनकाअनुसार ६० प्रतिशतसम्मसम्म मतदान सम्पन्न भएको छ । उनले भने, ‘केही क्याम्पसमा समझदारी कायम हुन नसकेको कारणले निर्वाचन हुन सकेन । चुनाव हुन नसकेको क्याम्पसमा समझदारी कायम गरी निर्वाचन प्रक्रियामा जान खोजेका छौँ ।’

देशभरिका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्मा सम्पन्न भएको थियो । 

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखियता नियमित हुन सकेको छैन । सरकारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र तिनले आन्दोलन मार्फत् गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट स्ववियु निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका थिए । क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० कार्यकर्तालाई प्रहरीले पक्राउ  गरेका थिए । त्यस्तै निर्वाचन अन्तर्गत बाजुराको बुढिनन्दा क्याम्पसमा दुई बिद्यार्थी संगठन बिच झडप भएको र झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र  हवाई फाएर गरेर भिड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी गराएका थिए ।

अगावै निर्विरोध 

स्ववियु निर्वाचनमा निर्वाचन हुनु अगावै विभिन्न क्याम्पसहरुमा निर्विरोध कार्यसमितिमा चयन भएका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचन हुनु अघि नै २३ वटा क्याम्पसमा निर्विरोध भएका थिए । त्यस्तै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल  स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचन अगावै २९ वटा क्याम्पसमा निर्विरोध निर्वाचित भएको थिए ।

कुन–कुन क्याम्पसमा रोकियो निर्वाचन ?

काठमाडौं उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आंगिक क्याम्पसमध्ये १३ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध बनेको हो । नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको थियो ।

अनेरास्ववियु आर आर क्याम्पस संठन विभाग प्रमुख एवं  प्रत्यक्ष सदस्य पदका उम्मेदवार धन रावतले रत्न राज्य लक्ष्मी क्याम्पस(आर.आर) मा स्ववियु निर्वाचन संयुक्त बिध्यार्थी संगठनद्वय नेपाल बिध्यार्थी संघ, अखिल क्रान्तिकारि र एकीकृत एस निकट बिध्यार्थी संगठन अनेरास्ववियूले चुनावी प्रकृया बिथोलेको जानकारी दिए ।

उनले भने, ‘रत्न राज्य लक्ष्मी क्याम्पस(आर.आर) मा स्ववियु चुनाब आज भएन । अनेरास्ववियुले मनोनयन दर्ता गराई उम्मेदवार सहित टुङाएर चुनाबी प्रचारप्रसार सुरु गरिसकेको तर संयुक्त बिध्यार्थी संगठनद्वय नेपाल बिध्यार्थी संघ,अखिल क्रान्तिकारि र एकीकृत एस निकट बिध्यार्थी संगठन अनेरास्ववियूले चुनावी प्रकृया बिथोलेका छन ।’

आरआरमा निर्वाचन अनिश्चत रहेको बताउँदै रावतले भने, ‘उक्त संगठनका कारण आजसम्म चुनाब निश्चित छैन । उनीहरुले निर्वाचन प्रमुख र क्याम्पस प्रमुखलाई कहिले खुकुरी प्रहार गर्ने दुस्साहस गरि त कहिले फोन बाट घरपरिवारलाई धम्की दिने जस्ता अराजक कोसिसहरु गरिरहेका छन जुन कारणले गर्दा निर्वाचन प्रमुख र क्याम्पस प्रमुख आज सम्म नि क्याम्पस मा प्रवेश हुने वातावरण नहुदा चुनाब अनिश्चित भएको हो ।’

अनेरास्ववियु स्ववियु निर्वाचनको पक्षमा रहेको जानकारी गराउदै अनेरास्ववियु आर आर क्याम्पस संठन विभाग प्रमुख एवं  प्रत्यक्ष सदस्य पदका उम्मेदवार धन रावतले जानकारी गराए । ‘आज र भोलि सम्म केही सुचना आउला।चुनाब सर्यो तर चुनाब ढिलै भएनि सम्पन्न हुनेमा विस्वस्थ छौँ’ उनले भने ।

यस्तै सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बाग्लुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत्र ९ गतेका लागि निर्वाचन मिति तोकिएको छ 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:२३
Weather Update