News Griha :: न्यूजगृह
पत्रकारिता कि पार्टीकारिता?

यति बेला नयाँ नेतृत्वका लागि नेपाल पत्रकार महासङ्घको आसन्न चुनावले पत्रकारहरूको चहलपहल निकै बढेको देखिन्छ। विभिन्न गुट उपगुट देखि लिएर को पत्रकार कुन पार्टीको, कसलाई उठाउने र कसलाई जिताउने भन्ने कसरत खुलेआम र पृष्ठभूमिमा पनि बढ्दै गएको छ। नेपालको पत्रकारिता जगतमा सबैभन्दा निराशाजनक र उराठ लाग्ने दृश्य नै यही हो।

पत्रकारिताको सिद्धान्त र धर्मले भन्छ, पत्रकार भनेको कुनै राजनीतिक दल ,व्यक्ति विशेष वा कुनै समूहमा लागेको त के अलिकति ढल्केको पनि देखिनु हुँदैन। तर हाम्रो विडम्बना के हो भने यहाँ खुलेआम रुपमा प्रेस चौतारी भनेको नेकपा एमाले नजिक, नेपाल प्रेस युनियन भनेको नेपाली कंग्रेस नजिक र नेपाल प्रेस सेन्टर भनेको माओवादी केन्द्र नजिक भनेर गर्वका साथ छाती ठोक्ने गरिन्छ। यसरी पार्टीको भ्रातृसङ्गठन झै आवद्ध हुने जो कसैलाई आफू पत्रकार हुँ भन्न पनि लाज लाग्नुपर्ने हो।

abeeral-1733666595.jpg
अविरल थापा

पत्रकारिताको आडमा केही राजनीतिक नियुक्ति, केही आर्थिक लाभ र केही थान मन्त्रीका प्रेस सल्लाहकार पड्काउनको लागि आफ्नो धर्म र विवेकको तिलाञ्जलि दिनसक्नेहरु बाट नेपाली पत्रकारिता जगतले के आशा गर्ने? निष्ठाको पत्रकारिता गरिरहेका श्रमजीवी पत्रकारको पाप नलागोस् तर बाँकीका क्रियाकलाप र दौडधुप हेर्दा ती पत्रकार हुन कि राजनीतिक दलका भजनमण्डली हुन प्रष्ट हुन्छ। जो सुकै पत्रकार कुनै पनि दलको कार्यक्रम वा जुलुसमा आफ्नो कामको सिलसिलामा सहभागी हुन सक्छ तर आफैं मुर्दावाद र जिन्दावाद भन्न थाल्छ भने, कुम हल्लाउन र मुठ्ठी बटार्न थाल्छ भने, दलका झण्डा बोक्न र आफैँ उफ्रिन थाल्छ भने ऊ छद्म भेषको कार्यकर्ता सिवाय केही हैन। 

पत्रकारिता छोडेर राजनीतिमा र राजनीति छोडेर पत्रकारितामा लाग्न पाइन्छ तर पत्रकारिता गर्दागर्दै हनुमान लीला देखाउने ढेडुहरुलाई के भन्ने? आफूलाई आस्था लाग्ने राजनीतिक दललाई भोट हाल्ने र व्यक्तिगत रुपमा समर्थन गर्ने हक सबैमा सुरक्षित छ तर भोट नै माग्दै हिँडने र आधिकारिक रुपमा पत्रकारिता नछोडी दलको उम्मेदवार नै हुने दुस्साहस कहाँबाट प्राप्त हुन्छ? कुनै दलले आफ्नो मुखपत्र निकाल्नु र कसैले अखबार निकाल्नु एकै कुरा हो र? कसैको नाम नतोकौँ तर हालसालै सम्पन्न स्थानीय चुनावमा सामाजिक सञ्जाललाई आधार मान्ने हो भने वरिष्ठ पत्रकार भन्नेहरुले समेत आफ्नो धोती फुस्केको पत्तो पाएनन्। नेपालमा अदालत भित्र न्यायाधीशका मात्र घोषित सङ्गठन बन्न बाँकी होला नभए हरेक क्षेत्र दल विशेषका सन्डमुन्डहरूको घेराबन्दीमा कैद छन्।    

नेपालको प्रजातान्त्रिक आन्दोलन र राष्ट्रियताको सवालमा यहाँका मिडिया र पत्रकारले जनतालाई र दलकै नेतालाई पनि सुसूचित गर्न र तानाशाही प्रवृत्ति विरुद्ध सतर्क हुन पटकपटक सचेत र साथ दिएकै हुन्। तर यदि कतै सो भूमिका निभाउँदा मिडिया र पत्रकारको कुम दलका नेता वा अन्य तत्त्वसँग कुम जोडिन पुगेको थियो र कालान्तरमा अँकमाल र उठबस सम्मै पुगेर एउटै थालको जुठोसम्म खान थालिएको हो भने सुन पानी छर्केर आफूलाई अविलम्ब चोख्याउन अबेर गर्नुहुँदैन।

नेपाल पत्रकार महासङ्घले खुट्टा दह्रो टेकेर भन्न सक्नुपर्‍यो दलका भ्रातृसङ्गठनको रुपमा गोलबद्ध भएका कथित पत्रकारहरूलाई आइन्दा मान्यता दिइनेछैन। महासङ्घ भित्रै यो समूहका यति र यो गुटका यतिलाई यो पद दिने भन्ने चाँजोपाँजो मिलाई निर्वाचनको ढोँग मात्र रचेर सर्वसम्मतिमा नेतृत्वमा पुर्याउने कोटा प्रणालीको अन्त्य नभएसम्म कसैले पदमा पुगेर माखो मार्लान् भन्ने आशा गर्नु नै बेकार हो। यस्तै नियति सँधै दोहोरिइरहने हो भने महासङ्घ पनि दलहरूले झुन्ड्याएको बुख्याँचा सिवाय केही हुनेछैन। न्यूनतम पारिश्रमिक र सुविधा लागू गराउन एकजुट भई मिडियाका मालिकहरूलाई बाध्य बनाउन नसक्ने, हरेक श्रमजीवी पत्रकारको बिमा अनिवार्य गराउन नसक्ने र पत्रकारिताको आडमा भइरहेका मोलमोलाइ र अन्य तिकडम मुकदर्शक भएर हेर्ने तर नियन्त्रण गराउन नसक्ने हो भने महासङ्घ खारेज गरिदिए पनि खासै फरक पर्दैन।

नेपालको कानुन अनुसार जो कसैले प्रक्रिया पुर्‍याएर मिडिया खोल्न पाउँछ तर कुन भूगोलमा कति मिडिया भए पुग्ने हो ?कति पत्रकार भए पुग्ने हो ? पत्रकारको न्यूनतम पढाई कति हुनुपर्ने ? मिडियाका मालिकहरूले के के मापदण्ड पुरा गर्नुपर्ने हो राज्यले त्यसको प्रष्ट नीति बनाई त्यसको कार्यान्वयन र अनुगमन गर्न गराउन सक्नुपर्छ। हैन भने मिडिया र पत्रकारको सङ्ख्या विकासे च्याउ जस्तै बढ्दै जाने खतरा उत्पन्न हुन थालिसक्यो। एकातिर मिडियामा लागेर हातमुख जोर्न धौधौ पर्ने पत्रकार छन् भने अर्कोतिर नाम र काम नै नसुनिएका नदेखिएका पत्रकारका हालिमुहाली र हाइहाइ छ। के देखेर वा के पाएर बजारको आयतन भन्दा बढी मिडिया र पत्रकार टिकिराखेका छन् यसको गम्भीर अध्ययन र अनुसन्धान हुनै पर्छ। नभए अनावश्यक रुपमा मौलाएका बन्सोहरूले मुख्य खेती नै सखाप पार्ने जोखिम हरदम रहिरहन्छ।      

मिडियालाई नियन्त्रण गर्ने भन्न खोजेको हैन तर विकृति बढेको थाहा पाए पछि निगरानी चाहिँ राख्नैपर्छ। नेपाल पत्रकार महासङ्घले यी सबै प्रक्रियाहरूमा आफ्नो उपस्थित र भूमिका कहाँ र कसरी खेल्ने हो प्रष्ट हुन जरुरी छ। हैन भए केही हजार पत्रकार गोलबद्ध गरी आवधिक रुपमा बाँडीचुँडी नेतृत्व फेर्दै वर्षौंसम्म पुरानै नारा उछालिइरहनु र फलाकिरहनुको कुनै तुक छैन। महासङ्घको चुनावका बखत नेतृत्व चयनका लागि शीर्ष राजनीतिक तहबाटै दिइने दवाव र प्रलोभन कसैबाट छिपेको कुरा हैन। पत्रकारिताको धर्म र मर्म बुझेकै पत्रकार हो भने उसले हिम्मत गरेर भन्न सक्नुपर्‍यो “म कसैको कठपुतली र दास बन्न आएको हैन मलाई जित र हारसँग कुनै सरोकार पनि छैन।” नभए दलकै इसारामा लम्पसार परेर नाचिरहने र व्यवसायिक पत्रकारिताको ढोँग रच्नेहरुले कतिबेला पत्रकारिताको हनुमान चालिसा लेख्छन् देख्न धेरै कुर्न नपर्ला।    

वर्षौंसम्म पत्रकारिता गरेर वरिष्ठको पगरी गुथ्नेहरू र विश्वविद्यालयका अध्यापक अध्येताहरूले पत्रकारितामा के सही र के गलत अभ्यास भइरहेका छन्। सशक्त रुपमा झकझकाउन र बहस गराउन सक्नुपर्‍यो। चिया पसल र भट्टीमा बसेर बर्बादै भो खत्तमै भो भनेर गनगन र सत्तो सराप गर्नुको साटो आवश्यक परेको ठाउँमा हस्तक्षेपकारी र सिर्जनात्मक सल्लाहसुझाव दिन सक्नुपर्‍यो। पत्रकारिताको सिद्धान्त र मान्यता पढेर पत्रकार भएकाहरूले गलत बाटो जानी नजानी हिँडिरहेका साथीहरूलाई मार्गदर्शन र दिशानिर्देश गर्ने साहस राख्नुपर्‍यो। पत्रकारको नाममा कुनै दल वा कसैका हुक्के, दैले, धुपौरे, झोले, टपरे, अरौटे भरौटे भएकाहरूलाई ऐनामा अनुहार हेर्दा हीनताबोध हुने स्थित उत्पन्न हुनुपर्‍यो। कसैलाई उचालेर र पछारेर ठूलै पत्रकार भएँ भन्ने भ्रम पाल्नेहरूलाई बागमतीको मुहानमै लगेर पालैपालो नुहाउनुपर्‍यो।

राजनीतिले सबैलाई सक्कायो पनि भन्ने तर आफैँ त्यसको मतियार र हतियार बन्ने काम हरेक पत्रकार र पत्रकारिता जगतले नै अविलम्ब त्याग्न सक्नुपर्छ। दुनियाँका पीर मर्का बुझेर लेख्न पनि सक्ने तर आफ्नो मालिकसँग चुँ बोल्न नसकेर किन चाउरिइस् मरीच आफ्नै रागले भन्नुपर्ने हालतबाट पत्रकार माथि नउठेसम्म वृत्तिविकास हुन सक्दैन। गर्भमै जाने बुझेर कोही आएको हुँदैन तर दैलो देखिसकेपछि हगिरहने मुर्खता कसैले गर्न हुँदैन। आज काखमा राखेर सुम्सुम्याउनेहरूले कुन दिन आफ्नै कोखामा रोपेर आन्द्राभुँडी निकाल्छन् भर हुँदैन। हरेक पत्रकारलाई ढुङ्गो र शालिग्राम चिन्ने सद्‌बुद्धि आओस्। नेपाल पत्रकार महासङ्घले कुनै वाद र रङ्गमा नलत्पतिएको सफेद नेता पाओस्।

अहिलेलाई यत्ति।

लेखक पोलिगन कलेज अफ मास कम्युनिकेशन एण्ड जर्नलिजमका प्रिन्सिपल हुन्। यो उनको निजी विचार हो–सम्पादक। 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १९:४९
Weather Update