News Griha :: न्यूजगृह
चौबिसे राज्यका पालाको लमजुङ दरबार पुरानै शैलीमा पुननिर्माण हुँदै, यस्तो छ इतिहास 

लमजुङ— चौबिसे राज्यका पालाको लमजुङ दरबार पुननिर्माण भइरहेको छ। सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुननिर्माण थालेको थियो। विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ। 'स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ,' अधिकारीले भने, 'यो वर्ष बजेट कम भएकाले सोचे जति काम हुन सकेन।'  

गत आवमा एक करोड ३३ लाख रुपैयाँ बजेटबाट पुननिर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्टाएको थियो। इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरूपमा दरबारको पुननिर्माण भइरहेको बताए। दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुननिर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ। दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ।

दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको इन्जिनियर अधिकारीले जानकारी दिए। दोस्रो तलाको गारो र झ्यालढोका राख्ने काम भइसकेको उनले बताए। उक्त ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्व विभागले पुनःनिर्माणमा अगुवाइ गरेको हो। गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुननिर्माण गरिसक्ने लक्ष्य लिइएपनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त देखिएको बताए । 

'अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट झन घटेर आयो, पर्याप्त बजेट आएन भने आउँदो वर्ष पनि दरबार पुनःनिर्माण पूरा हुने देखिन्न,' उनले भने, 'पुरातत्व विभागले पुनःनिर्माणको काम गरे पनि लमजुङ दरबार कुन सरकारको मातहत रहने भन्ने अन्योल रहँदा ऐतिहासिक महत्वको सम्पदा ओझेलमा परेको छ।' 

ऐतिहासिक धरोहरको रुपमा रहेको दरबार पुननिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उनको भनाइ छ। लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँसहरमा अवस्थित उक्त दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ। जीर्ण भएर अलपत्र अवस्थामा पुगेको दरबार पुननिर्माणले नयाँ आशा जगाएको अध्यक्ष बोहोराले बताए । विसं १५५० मा राजा यशोबह्म शाहले शासन सुरु गरेको उक्त दरबारमा पुराना तोप, तरबार, भालालगायत सामग्री सुरक्षित छन्। दरबार परिसरमा लमजुङ राज्यका पहिलो राजा यशोबह्मको अर्धकदको सालिकसमेत बनाइएको छ। समुद्री सतहदेखि एक हजार चार सय ४५ मिटर उचाइमा रहेको उक्त दरबारमा सदरमुकाम बेँसीसहरदेखि ३० मिनेटको मोटर यात्रामा पुगिन्छ। पर्यटकीय गाउँ काउलेपानीदेखि नजिकै दरबार अवस्थित छ। दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिका अध्यक्ष बोहोराले जानकारी दिए। 

यस्तो छ लमजुङ दरबारको इतिहास 

चौबिसे राज्य स्थापना हुने सिलसिलामा विसं १५२४ मा कास्की राज्य स्थापना भएको थियो। कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको आलेखमा उल्लेख छ। राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाहरुबाट उनी मारिएपछि लमजुङका खाजे दुरा, नारायण दुरा, कुश्माखर घिमिरेलगायत ठकुरी राजा माग्न कास्कीकोट गएको सन्दर्भ उक्त आलेखमा छ।

राजा माग्न गएका लमजुङेलाई कास्कीका राजा कुलमण्डनले बेस्सरी हकारेको र आफ्ना कान्छा छोरा यशोबह्मलाई राजा बनाउन लमजुङ खटाएको इतिहासमा उल्लेख छ। कास्कीकोटबाट आएका यशोबह्मले विसं १५५० असार १५ गते लमजुङ राज्यको गद्दी सम्हालेका थिए। राजा यशोबह्मको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा लमजुङ राज्यको राजा भए । नरहरिपछि चुडा शाह, अचित शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रीपुमर्दन शाह, वीमर्दन शाह गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए।

विसं १८३९ कात्तिकसम्म शाहवंशका राजाले लमजुङ दरबारबाट शासन चलाएको इतिहासमा उल्लेख छ। शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउने गर्दथे। प्राचिनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पथ्र्यो । पृथ्वीनाराण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल विस्तारको अभियान थाले। विसं १८३९ मा पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ। रासस

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०९:४१
Weather Update