News Griha :: न्यूजगृह
सरकार प्राथमिकता होइन तर अप्ठ्यारो परे सहभागी हुन सकिन्छ :  रवि लामिछाने

रौतहट— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन सक्ने बताएका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीसँग उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे । तर एउटा राजनीतिक दल भएकाले मुलुकलाई ज्यादै अप्ठ्यारो पर्‍यो वा परिस्थिति सिर्जना भयो र आवश्यकता परेको खण्डमा रास्वपा सरकारमा सहभागी हुन सक्ने उनले बताए । 

रास्वपा अहिले सदनमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै उनले अहिले आफ्नो जिम्मेवारी र भूमिका असाध्यै धेरै रहेको जिकिर गरे । अर्थतन्त्र चलायमान बनाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार दलहरूका नेता र निजी क्षेत्रका अगुवासहितको बैठक गरेका थिए ।

लामिछानेले सञ्चारकर्मीसँग उक्त बैठकप्रति असन्तुष्टि व्यक्त गरे । सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको उनले बताए । अर्थतन्त्र बलियो हुने आधारको खोजी नगरिएकाले खाली देखावटी रुपमा बैठक बोलाइएको टिप्पणी उनले गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी देश र मधेसको भविष्य फेर्न तयारीको साथ मधेसमा आएको दाबी उनले गरे । वर्षौँदेखि विभेदमा परेको मधेसमा विशेष तयारी गरी आफू एक हप्ताको कार्यक्रमअन्तर्गत आएको बताउँदै लामिछानेले मधेसमै पार्टीको विशेष बैठक पनि राखेको जानकारी दिए । 

काठमाडौंमा भइरहेको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद रहेको टिप्पणी उनले गरे । धेरै दलहरू मिलेर बनेको शक्तिशाली सरकार आन्दोलनसँग डराउदै धरपकडमा उत्रिएको घटना लज्जास्पद भएको उनले बताए । 

स्वतन्त्र रुपमा हिँडेका नागरिकलाई समाउँदै थुनेको घटना लोकतन्त्रको विशेषता विरुद्ध रहेको बताउँदै लामिछानेले भने, ‘लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने जनताको अधिकार हो ।’  आफू दुर्गा प्रसाईँको समर्थक वा प्रशंसक नभएको पनि उनले प्रष्टिकरण दिए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:४०
Weather Update