News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
छ्‌या रविको ‘कोर टीम’

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा ढाकाकुमार श्रेष्ठ र स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंबीचको फोनवार्ता भाइरल छ ।

आइतबार सार्वजनिक उक्त रेकर्डेड फोनवार्ताको विषयमा विभिन्न टीकाटिप्पणीसमेत भइरहेको छ । राजनीतिसँगसँगै सामाजिक सञ्जालमासमेत यही विषय अहिले सबैभन्दा बढी चर्चामा छ । 

सार्वजनिक फोनवार्ता केही महिना पहिलेको हो । 

Prabhu Bank

आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसको लागि पार्टीलाई २ करोड बुझाउनुपर्ने भएको भन्दै सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग सहयोग मागेको सार्वजनिक अडिओमा सुनिन्छ । श्रेष्ठ समानुपातिक सांसद हुन् । मन्त्री भएपछि आफ्नो काम गरिदिनुपर्ने शर्तमा प्रसाईं सांसद श्रेष्ठलाई २ करोड दिन राजी पनि हुन्छन् । 

नेकपा एमाले नेतृत्वको तत्कालीन गठबन्धन सरकार बन्नु पूर्वको समयमा गरिएको फोन संवाद अहिले आएर मात्र सार्वजनिक भएको हो । त्यतिबेला स्वास्थ्य मन्त्री भने नेकपा एमाले नेता पदम गिरी भए, रास्वपाले भने राज्यमन्त्री पाएको थियो । राज्यमन्त्री बनेकी थिइन डा तोसिमा कार्की ।

durga-prasai1681117474.jpg
स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं ।

‘अहिले सही समय लागेर मैले यो अडिओलाई यतिखेर मात्रै बाहिर ल्याएको हुँ । म सँग यस्ता थुप्रै नेताहरुको अडिओ सुरक्षित छ । र, समयसँगै ती अडिओलाई पनि सार्वजनिक गर्दै जानेछु’, व्यवसायी दुर्गा प्रसाईंले भनेका छन् । 
अडिओसार्वजनिक पछिरास्वपा सांसद ढाकाकुमार श्रेष्ठप्रति जनता  आक्रोशित देखिन्छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारमा उनी विरुद्ध थुप्रै ‘कमेन्ट’गरिएका छन् । 

त्यसो त श्रेष्ठले सार्वजनिक अडिओ नियोजित भएको दाबी गर्छन् । कसैले आफ्नो ‘क्यारिकेचर’ गरेर अडिओ सार्वजनिक गरेको भनेर उनले स्पष्टीकरणसमेत दिइरहेका छन् । उनले सांसदकै हैसियतमा विज्ञप्ति जारी गरेर ‘रास्वपा र आफूलाई बदनाम गर्ने नियतले अडिओ सार्वजनिक भएको’ प्रतिक्रिया दिएका छन् । श्रेष्ठले आफूलाई जुन रुपले चोख्याउन खोजेपनि कसैले पनि उनको कुरालाई मान्न तयार छैनन् । कारण, उनको विगत हो । विगतले पनि श्रेष्ठलाई आर्थिक रुपमा चोखो देखाउँदैन ।

dhakakumar Shrestha 11681032037.jpg
रास्वपा सांसद डा ढाकाकुमार श्रेष्ठ ।

पोखरामा फार्मेसी चलाउने अनुमती लिएर अवैधानिक रुपमा हस्पिटल संचालन गरेको कुरा होस् या पछिल्लो समय उनी अध्यक्ष भएको सहकारीले गरेको आर्थिक हिनामिना । यी दुई विगत हेर्दा श्रेष्ठले विवेकपूर्ण हिसाबले नै पछिल्लो काण्ड घटाएका हुन् भन्दा फरक पर्दैन ।

तर श्रेष्ठ निकट राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी कै नेताहरु भने पछिल्लो काण्डमा श्रेष्ठले एकल हिसाबले व्यवसायी प्रसाईंसँग पैसा मागेका हुन् भन्ने कुरामा भने शंका गर्न सकिने बताउँछन् ।  त्यसो त सार्वजनिक अडिओमा पनि श्रेष्ठले २ करोड रुपैयाँ आफू मन्त्री बन्नका लागि पार्टीलाई बुुझाउने कुरा उल्लेख गरेका छन् ।

यसले एउटा कुरा चाहीँ के स्पष्ट गरेको छ भने स्वच्छ र अनियमितता रहित राजनीति गर्ने भनेर स्थापना राष्ट्रिय स्वतन्त्र पार्टी पनि आर्थिक अनियमितताको फोहोरमा चुर्लुम्म डुबेको छ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरिरहेको रास्वपा हामी चोखो छौँ भनेर ‘पानी माथिको ओभानो’ हुन खोजेपनि आर्थिक भ्रष्टताउन्मुख भएको कुरा अब लुकाएर लुक्नेवाला छैन । 

श्रेष्ठ निकट रास्वपा गण्डकीका नेता भन्छन्, ‘ढाकाकुमारले त ब्लन्डर गरे कै हुन् । उनी कारबाहीको भागिदार छन् नै । तर ढाकाकुमारको पछाडि पार्टीको नेतृत्व पनि यसमा जोडिएको हुन सक्छन् । तर सामाजिक  संजाल र मिडियाहरुले पार्टीको नेतृत्वतर्फ किन औँला उठाउन सकिरहेका छैनन् ?’ ।

ती नेताका अनुसार चिनजान समेत नभएका प्रसाईंलाई सिधै फोन गरेर पैसाको ‘डिमान्ड’ गर्न श्रेष्ठले सक्दैनन् । उनी थप्छन्, ‘यसमा पार्टीको नेतृत्वकै समेत मिलेमतो हुन सक्छ । नत्र उनी त्यत्रो आँट गर्न सक्ने खाले मान्छे होइनन् ।’ ढाकाकुमारको विगत जे जस्तो भएपनि सार्वजनिक अडिओ प्रकरणमा उनी एक्लै दुषित खेलमा सामेल छैनन् भन्दा फरक नपर्ला । 

त्यसो त अडिओमा पनि श्रेष्ठले पार्टीको ‘कोर टीम’बाट आफूलाई पैसा ‘डिमान्ड’ भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘रवि सर बाहिर देखिनुभएको छैन । तर पार्टीको २÷३ जना कोर टीमले यसमा काम गरिराखेका छन् ।’ सार्वजिनक अडिओमा कोर टीमको बारेमा दुर्गा प्रसाईंले रास्वपा महामन्त्री डा मुकुल ढकालको नाम लिन्छन्  । तर श्रेष्ठले ढकाल कोर टीमको सदस्य नरहेको दाबी गर्छन्  ।  

श्रेष्ठको दाबीलाई आधार मान्ने हो भने रास्वपा सभापति रवि लामिछानेले आर्थिक लेनदेनको काम कोर टीममार्फत मात्रै गर्छन् । यसरी कोर टीम मार्फत भएको लेनदेनको विषयमा पार्टीलाईसमेत जानकारी हुने कुरै भएन । अडिओबाट अर्को के पनि पुष्टि गर्छ भने बाहिरी रुपमा आफूलाई जतिसुकै पारदर्शी बताएपनि रवि यो खेलमा चुर्लुम्म डुबिसकेका छन्  । उनले राजनीतिक आडमा असुली धन्दा चलाइरहेका छन्  । 
त्यसो भए को हो त रविको कोर टीम ? 
सार्वजनिक अडिओमा सांसद श्रेष्ठले भनेको ‘कोर टीम’ को हो त? अहिले सर्वाधिक खोजीको विषय हो । लेनदेनको सवालमा पार्टी महान्त्री डा मुकुल ढकाल ‘कोर टीम’ भन्दा बाहिरको मान्छे भनेर श्रेष्ठले भनेपछि उनी यो समूहमा नअटाएको स्पष्ट हुन्छ । ढकाल प्रवक्तासमेत हुन्  । रविलाई नजिकबाट चिन्ने र उनीसँग लामो समय काम गरेका केही व्यक्तिको दाबीलाई मान्ने हो भने रविको कोर टीममा दीपक बोहोरा एकमात्र सदस्य हुन् । यतिसम्म कि आर्थिक लेनदेन गर्ने विषयमा रविले श्रीमति निकिता पौडेललाई समेत विश्वास गर्दैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका बोहोरा रविका ‘खास’ हुन् । त्यसो टेलिभिजनमा कार्यक्रम चलाउँदा आफ्ना विभिन्न ब्यूरोमार्फत व्यवसायीहरुसँग रविले पैसा असुली गरेको आरोप लागेको थियो । उनको असुली धन्दाबारे दुर्गा प्रसाईंले पुष्टिसमेत गरेका छन् ।

deepak bohora with rabi1681115740.jpg
रास्वपा केन्द्रिय सदस्य दीपक बोहोरा पार्टीसभापाति रवि लामिछानेसँग । तस्बिर बोहोराको फेसबुकबाट । 

‘रविले कार्यक्रम चलाउँदा म सँग ब्यूरोमार्फत २५ लाख रुपैयाँ डिमान्ड गरेका थिए । मैले पैसा दिइन । त्यही भएर उनी म माथि निरन्तर खनिएका थिए’, प्रसाईंले न्यूज २४ को कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा कुराकानीमा भनेका छन् । यो त्यही कार्यक्रम हो, जसले रविलाई ‘रवि’को रुपमा स्थापित गरेको थियो । यो कार्यक्रमका निर्माता समेत थिए कोर टीमका एक मात्र सदस्य दीपक बोहोरा ।

सिधा कुरा जनतासँग कार्यक्रमकै टीम सदस्य पत्रकार शालिग्राम पुडासैनीले पनि त्यतिबेला रविले पैसा असुली गर्ने बताएका थिए । चितवनको एक होटलमा मृत फेला परेको पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि बनाएको एक भिडिओमा पनि उनले आफ्नो मृत्युको कारण रवि भएको दाबी गरेका थिए । पुडासैनीको मृत्यु पछि रवि लामिछाने ‘आत्महत्या दुरुत्साहन दुरुत्साह’ मुद्दामा पक्राउ परे । चितवन जिल्ला अदालतले रविलाई सफाइ दियो तर पुडासैनीले रविमाथि लगाएको आर्थिक अनियमितताको आरोपमाथि भने अनुसन्धान भएन । 
प्रश्न रवि लामिछानेतर्फ 
त्यसो त अडिओ सार्वजनिक भएपछि रविले त्यसमा आफ्नो र पार्टीको संलग्नता नभएको दाबी गरिसके । उनले ७२ घण्टाभित्र सत्यतथ्य छानविन गरि पार्टीले दोषीलाई कारबाही गरिसक्ने प्रतिवद्धतासमेत जनाइसकेका छन् । उनले भनेका छन्, ‘रास्वपा भ्रष्टलाई राख्ने र जोगाउने पार्टी  होइन । हामी पैसाको लेनदेन त परको कुरा कुराकानी हुँदा मात्रै पनि सहदैनौं । बेथितिको बचाउ गर्दैनौं बरु त्यसको पर्दाफास गरि दण्डित गर्छौँ’ ।

rabi-lamichhane-rsp1680626227.jpg

उपनिर्वाचनको प्रचारप्रसारको क्रममा रहेका रविले अडिओ चुनावलाई प्रभावित पार्ने उद्देश्यले बाहिर ल्याइएको दाबी गरेका छन् । त्यसो त रवि बोल्नमा निकै सिपालु छन् । बोलेर उनले अरूलाई सहजै प्रभाव पार्छन् । 

बोल्ने कला, राजनीतिक शक्ति र पहुँचको भरमै रविले विभिन्न उन्मुक्ति पाउँदै आएका छन् । चाहे त्यो आत्महत्या दुरुत्साहन मुद्दा होस् या दोहोरो राहदानी प्रकरणमा किन नहोस् । विवादीत व्यवसायी प्रसाईंसँग पैसा मागेको पछिल्लो अडिओ काण्डमा पनि रवि कुनै न कुनै हिसाबबाट आरोपमुक्त हुने नै छन् । कारण, यसमा उनको सोझै संलग्नता अहिलेसम्म पुष्टि भएको छैन । तर रविले आफ्नो ‘कोर टीम’मार्फत मन्त्री बनाउनका लागि पार्टीभित्रै पनि आर्थिक चलखेल गर्छन् भन्ने कुराको पर्दाफास भने यो घटनाले गरिदिएको छ । यो प्रकरणमा पनि यत्ति भन्न सकिन्छ, रवि सँधै झै चोखो हुनेछन् । र, बलिको बोको डा ढाकाकुमार श्रेष्ठ हुनेछन् । जो जानाजान बलिको बोको हुन तयार भएका थिए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १४:५९
sagarmatha cementsagarmatha cement
Weather Update