
बाँके— नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन् । उमेरले ५० नाघेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउँछन् । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानीनजानी भाँडाको आकार दिन सुरु गरेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताए । माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उनी यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछन् ।
‘बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ । सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकोले माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु,’ अमिनले भने ।
बाबुबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउँछन्। अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा १५–१६ हजार रुपैयाँसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा पाँच–छ हजार आम्दानी भएको अमिनले बताए ।
अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उनले तीन घोडा पालेका छन् । ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउँछन् । अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आएकी छन् । कसगर भाँडा बनाउन सासूबाट सिकेको बताउँछिन् । नेपालगञ्ज उपमहागनरपालिका–५ स्थित मसानघाट टोलकी उनले आफूसँगै दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाएकी छन् ।
पुर्ख्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्छिन् । भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उनको भनाइ । गत वर्षको दसैँतिहारमा १३ हजारको व्यापार गरेकी सुफियाले १० हजार नाफा कमाएको बताइन् । तर यस वर्ष भने जम्मा पाँच हजार जतिको नाफा भएको उनको भनाइ छ । अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउँछिन्।
‘हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो । तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ,’ उनले भनिन्, ‘आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ ।’ सुफियाले यस वर्षको दसैँतिहारका लागि एक ट्रली माटोका भाँडा बनाएकी थिइन् । तर उनले सोचेजस्तो नाफा हुन सकेन ।
बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झण्डै २१ घरपरिवारका छन् । तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुर्ख्यौली पेसाका रूपमा चिनाउँदै आइरहेका छन् । कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहेका छन ।
पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिडपछि भने ओरालो लाग्दै गएको कसगरको भनाइ छ । माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउँछन् । एक ट्रली माटोको मूल्य साढे चार हजार पर्छ । अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ । उमेरले झण्डै चार दशक नाघेका पप्पुको भने चार पुस्ताले यो पेसालाई अँगाल्दै आएको छ । पप्पुको सातजनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्ने गर्छन् । तर माटोका भाँडा बनाउने समयमा परिवारलाई सघाउने उनको भनाइ छ ।
काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । एक क्विन्टल दाउरालाई एक हजार पर्दछ । माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ । धानको भुस पाउन हम्मेहम्मे पर्न थालेकोले कसगरहरू प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ । दुईदेखि दुई सय ५० सम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगायत अन्य भाँडाकुँडा बनाइन्छन् । माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउँदैनन् । त्यो चार महिनामा मात्रै उनीहरू दैनिकरूपमा ज्यालामजदुरीको काम गरेर साँझ–बिहानको छाकको जोहो गर्छन् ।