
सुर्खेत— तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ ।
चिसो सिरेठोमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि यही कात्तिक १७ शुक्रबार राति ११:४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरूका पछिल्ला दिन कष्टकर तरिकाले व्यतीत भइरहेका छन् ।
भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौधौ छ । यद्यपि, पालमुनि भए पनि बत्ती बालेर दीपावली सुरु भएको पहिचान भने दिएका छन् ।
भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुम पश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो । यद्यपि भूकम्पबाट सिङ्गो जाजरकोट, रुकुम पश्चिमको चौरजहारी तथा मुसीकोट नगरपालिका र बाँफिकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन् ।
कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक खुला आकाशमा बिताइरहेका छन् । कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन् ।
विस्थापित सबैको बास भनेकै पालमुनि हो । दसैँ घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन् ।सहर तथा गाउँमै पक्की घर भएका नागरिकका घर आँगन रङ्गेलीले सकिरहँदा भने भूकम्पपीडितले आइतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे ।
जाजरकोट नलगाड नगरपालिका निवासी एक स्थानीयले पालमुनि दीपावली गरेको तस्बिर अहिले सामाजिक सञ्जाल व्यापक चर्चामा छ । तिहारको रौनक चलिरहँदा भूकम्पपीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंह दुखेसो पोखे । उनले भने, ‘नमरुन्जेलसम्म आफ्नो संस्कृति र आस्था मार्ने कुरा त भएन तर आनन्दका साथ तिहार मनाउने अवसर भूकम्पका कारण गुमेको छ ।’
भेरी नगरपालिका जाजरकोट निवासी दिनेश सिंहले भूकम्पबाट भाग्यले बाँचिएको बताउँदै पालमुनिको तिहार मनाउन समस्या भएको बताए । ‘तिहार आफ्नो ठाउँमा छ बरु सरकारले चिसोमा कठ्याङ्ग्रिएका जनताको समस्यालाई छिटो बुझेर घरटहरा हालिदिएको भए हुन्थ्यो’, सिंहले भने, ‘तिहार त यसपटक मनाउन नपाए अर्को पटक आइहाल्ला । एकबारको जीवन बचाउनतर्फ लाग्नुपर्यो ।’
जुनीचाँदे गाउँपालिकाका मनसरा रावतले फेरि भूकम्प आएर आएर जीवन सक्याउने हो कि भन्ने त्रासले तिहारको कुनै रमझम नभएको प्रतिक्रिया दिए । भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनःस्थापना तथा पुनःनिर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने उनको भनाइ थियो ।