News Griha :: न्यूजगृह
ट्वीटरमा चराको स्थान ओगट्ने कुकुरको वास्तविकता

काठमाडौं— माइक्रो ब्लगिङ साइट ट्वीटरको लोगो परिवर्तन भएको छ । स्पेसएक्स र टेस्लाका सिईओ एलोन मस्कले ठूलो कदम चालेर ट्वीटरको चर्चित तथा वर्षौं पुरानो ट्वीटर ब्लू बर्ड लोगो प्रतिस्थापन गरेका हुन् ।

प्रयोगकर्ताले ट्वीटरमा अब नीलो चराको स्थानमा कुकुर देख्न सक्नेछन् । सो कुकुर ‘डज’ नामले प्रसिद्ध छ । यो सामाजिक सञ्जाल प्लेटफर्मको आइकन/लोगोको रूपमा बनाइएको डजक्वाइन क्रिप्टोकरेन्सीको कुख्यात ‘डज’ मिमको रुपमा पनि चिनिन्छ ।

सोमबार ट्वीटर प्रयोगकर्ताहरूले अचानक आफ्नो ट्वीटर ह्यान्डलमा ‘डज’ मिम देखेपछि निरन्तर त्यसको बारेमा ट्विट गर्न थालेका थिए । त्यसको लगत्तै अर्बपति एलोन मस्कले पनि नीलो बर्ड ट्वीटर लोगो पुरानो तस्बिर हो र नयाँ सायद प्रसिद्ध डजक्वाइन क्रिप्टोकरेन्सीको यो ‘डज’ मिम हुन सक्छ भन्ने अनुमान गर्दै एउटा मिम ट्विट गरेका थिए ।

चाखलाग्दो कुरा के छ भने धेरै व्यक्तिहरूले ट्वीटरको लोगो सामाजिक सञ्जाल प्लेटफर्मको डेस्कटप संस्करणमा मात्र परिवर्तन भएको देखेका छन् । किनभने मोबाइल/एप संस्करणले अझै पनि ट्वीटर ब्लू बर्ड लोगो देखाउँछ ।

कुकुरमा क्लिक गर्दा ट्वीटर फिड ताजा हुन्छ र तपाईंलाई ट्वीटर फिडको शीर्ष स्थानमा ल्याउँछ । ट्वीटरमा कुकुर देखा परेदेखि नै ‘ट्वीटर लोगो’ केही समय सामाजिक सञ्जालमा टप ट्रेन्डमा रह्यो । तर, त्यति मात्रै होइन कथा अरु पनि छ । त्यसको बारेमा तल चर्चा गरिएको छ । एलोन मस्कसँग यो कुकुरको के सम्बन्ध छ ? यो डज मिम भएको कुकुरको कहानी के हो ? सामाजिक सञ्जालले कुकुरको लोगोलाई कसरी लिइरहेको छ ?

मस्क र डजक्वाइनको मिलनविन्दु

मस्कले ट्वीटरमा आफ्ना पुराना ट्विट सेयर गरेका छन् । उक्त ट्विटमा उनले नयाँ प्लेटफर्म चाहिन्छ कि भनेर सोधेका थिए । यसको जवाफमा चियरम्यान नामका एक प्रयोगकर्ताले ‘हो ! ट्वीटर किन्नुहोस् र चराको लोगो परिवर्तन डज अर्थात् कुकुरको लोगो राख्नुहोस्,’ भनेका थिए । उनले अहिले सो पुरानो ट्विटको स्क्रिनसट सेयर गर्दै ट्विट लेखे, वाचा गरेअनुसार ।

यसअघि मस्कले डज कुकुरको मिम सेयर गरेका थिए । उक्त मिममा एक प्रहरीले आफ्नो हातमा यातायात लाइसेन्स जस्तो प्रतित हुने कार्ड समातेका छन् र फोटोको ठाउँमा नीलो चरा अर्थात् ट्वीटरको लोगो देखिन्छ । त्यसमा कुकुरले जवाफ दिन्छ– यो पुरानो फोटो हो ।

मिमसँग मस्कले पुरानो नीलो चराको लोगोलाई अब नयाँ लोगोले प्रतिस्थापन गर्ने र यो लोगो कुकुरको हुने संकेत गर्ने प्रयास गरेको देखिन्छ । हेर्दा ट्वीटरमा रमाइलो देखिए पनि कुरा यत्तिमै सीमित छैन । ब्लूमबर्गको रिपोर्टअनुसार ट्वीटरमा उक्त कुकुरको लोगो आएपछि डजक्वाइन नामको क्रिप्टोकरेन्सीको शेयरमा ३० प्रतिशतले उछाल आएको छ । डजक्वाइनलाई विश्वको तेस्रो शक्तिशाली क्रिप्टोकरेन्सी मानिन्छ र यसको सम्बन्ध मस्कसँग गहिरो छ ।

डजक्वाइनको लोगोमा पनि यही कुकुर छ । डजक्वाइन र मस्कसँग सम्बन्धित मुद्दा पनि अदालतमा चलिरहेको छ । जसमा उनीमाथि २५८ बिलियन अमेरिकी डलरको मुद्दा अमेरिकामा चलिरहेको छ । उनले शुक्रबार अदालतलाई मुद्दा बन्द गर्न आग्रह गरेका थिए । उनीमाथि डजक्वाइन प्रवर्द्धन गर्न लगानीकर्ताहरूलाई प्रभाव पारेको आरोप छ ।

यता उनका वकिलहरूले त्यस्तो प्रभाव पारेको भन्न सकिने कुनै प्रमाण नभएको दाबी गरेका छन् । तर डजक्वाइनको लागि मस्कको प्रेमलाई यसरी बुझ्न सकिन्छ एक समयमा उनले शब्दहरूसँग खेल्दै आफूलाई ‘डजफादर’ घोषणा गरेका थिए ।

सन् २०२१ मा मस्कले ‘डज–१’ नामक स्याटेलाइट प्रक्षेपण गर्ने कुरा पनि गरेका थिए र चन्द्रमामा पठाउने उक्त मिसन डजक्वाइनबाट खर्च गरिने बताएका थिए । मस्कले गत वर्ष टेस्लासँग डजक्वाइनको स्वामित्व रहेको बताएका थिए । टेस्ला मस्कको इलेक्ट्रिक कार कम्पनी हो । सोही वर्षको १५ फेब्रुअरीमा कुकुरको तस्बिर सेयर गर्दै मस्कले लेखे– ट्वीटरको नयाँ सिईओ अद्भुद छ ।

डज नामको कुकुर को हो ?

मस्कले ट्वीटरको लोगोलाई उक्त डजमा परिवर्तन गर्न कुनै कारण खुलाएका छैनन् । यद्यपि विगतदेखि नै आएका रिपोर्टहरूअनुसार मस्कले डजक्वाइन लगानीकर्ताहरूले दायर गरेको मुद्दा बन्द गर्न माग गर्दै आएका छन् ।

यस्तो अवस्थामा मस्कको स्वभाव र मुड थाहा पाउनेहरूले ट्वीटरको लोगोमा कुकुर राख्नुको कारण के हुन सक्छ भन्ने अनुमान सजिलै लगाउन सक्छन् । यस्तै, डजक्वाइनको स्टकमा पनि उछाल आएको छ ।

त्यसो भए यो कुकुर को हो ?

यसको एक सरल जवाफ छ– सामाजिक मिडिया मिम । जापानमा कुकुरको एउटा ब्रीड छ – शिबा इनु । उक्त ब्रीडको कुकुरको एउटा नाम हो– काबोसु । सामाजिक सञ्जालमा मिमको रुपमा सेयर गरिएको तस्बिर सन् २०१० को हो । उक्त तस्बिर त्यतिबेला ब्लगमा अपलोड गरिएको थियो । उक्त कुकुरलाई कुकुरको आश्रयस्थलबाट उद्धार गरिएको थियो । शिबा इनु ब्रीडका अन्य कुकुरहरूको फोटो पनि मिम्समा प्रयोग गरिन्छ । तर काबोसु सबैभन्दा प्रसिद्ध छ ।

वाशिंगटन पोस्टकाअनुसार सो कुकुर तब बढी प्रसिद्ध भयो जब सफ्टवेयर इन्जिनियरहरू बिली मार्कस र ज्याक्सन पाल्मरले बिटक्वाइनको प्यारोडी भर्सन डजक्वाइन बनाए र लोगोको रुपमा सो कुकुरको तस्बिर राखे । मार्कसले सीएनबीसीलाई दिएको एक अन्तर्वार्तामा डजक्वाइन दुई घण्टामा सिर्जना भएको बताएका थिए ।

कुकुरको आगमनमा ट्वीटरले कस्तो प्रतिक्रिया दियो?

ट्वीटरको नयाँ लोगो आएपछि सामाजिक सञ्जालमा प्रतिक्रियाहरू आइरहेका छन् । तर अहिले कुकुरको लोगो डेस्कटपमा मात्रै देखिएको छ । खुश्बु प्रसादले लेखेका छन्, ‘एलोन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । अब यसको नाम पनि परिवर्तन गरेर बार्क अर्थात् भोक्नु राख्नुपर्छ ।’

नेहाले ट्विटमा भनिन्,‘पहिले मानिसहरु चिरबिराउथे । अब भुक्नेछन् ।’ यस्तै प्रीति लेख्छिन्, ‘अब ट्विट गर्दैनौँ, अब भुक्छौं ।’

मस्क–ट्वीटर विवाद

अर्बपति मस्क र विवाद नयाँ होइन । उनले ट्वीटर किनेको घोषणा गरेदेखि नै विवादमा आइरहेका छन् । सुरुमा उनले ४४ अर्ब डलरमा ट्वीटर किन्ने कुरा गरेका थिए, पछि त्यसलाई बेवास्ता गरे  । जब ट्वीटर अदालत जाने निर्णय गर्यो, मस्कले अन्तिम मिनेट अघि नै सम्झौतालाई अन्तिम रूप दिए र ट्वीटर किने ।

ट्वीटरको स्वामित्वको अधिकार प्राप्त गरेलगत्तै उनले पराग अग्रवाललगायत ट्वीटरका शीर्ष कर्मचारीहरूलाई निष्काशन गरेका थिए । त्यसपछि विश्वभर ट्वीटरबाट हजारौं कर्मचारीहरुले जागिरबाट हात धोए । तर उनले कम्पनीलाई घाटा नहोस् भनेर सो कदम चाल्न आवश्यक रहेको भन्दै आफ्नो निर्णयको बचाउ गरेका थिए ।

त्यसपछि ट्वीटरले ब्लु टिक अर्थात् भेरिफाइड सुविधाका लागि पैसा लिने निर्णय गर्‍यो । यसलाई ट्वीटर ब्लू नामले चिनिन्छ । यसअघि सो सुविधा निःशुल्क उपलब्ध थियो ।

बीबीसी हिन्दीकाे सहयाेगमा 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १८:४९
Weather Update