News Griha :: न्यूजगृह
बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्

जनकपुरधाम— ‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै ।

जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अलमलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै । ‘बूढो बाजेको पेडा पसल’, ‘असली बूढो बाजेको पेडा भण्डार’, ‘असली बूढो वैद्यनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो वैद्यनाथ बाजेको पेडा पसल’, ‘वैद्यनाथ बाजेको पेडा भण्डार’, ‘वैद्यनाथ बाबाको पेडा पसल’, ‘श्री वैद्यनाथ साहको पेडा भण्डार’ यस्तैयस्तै पसल अनेक तर नाम एक । 

अगाडि होस् या पछाडि ‘वैद्यनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो । त्यो देखेर एकछिन त जो कोही अलमलमा पर्छन् । त्यस्तै अलमलमा थिइन, काठमाडौंबाट इलाम जाँदै गरेकी रोशनी राई । ‘वैद्यनाथ बाजे को हुन् ? सबै पसल उहाँकै हुन्’, स्थानीय एक व्यापारीलाई राईले सोध्दै थिइन् ।  

जवाफ आयो, ‘हैन ।’, 

‘अनि वैद्यनाथ बाजे को त ?’
जवाफमा पसले भन्दै थिए, ‘यस ठाउँमा पेडा व्यापार सुरु गर्ने मान्छे !’ 

रोशनीले मात्रै होइन, पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सप्तरीको कञ्चनरूप नगरपालिका– २ बरमझिया पुगेका वा सो सडक भएर यात्रा गर्नेहरूको मनमा यस्तै जिज्ञासा जाग्दो रहेछ । लहरै रहेका यी पसलहरूले मन लोभ्याउँछन् । गाडी नरोकेर धरै पाइन्न ।  अनि कुरौनी र पेडा किन्यो । पसल अगाडि टक्क रोकियो र तस्बिर लियो । यस्तै दृश्य देखिन्छन् यहाँ ।  

स्थानीय अभिषेक साह भन्दै थिए, ‘सबैले सोध्छन् पसल अनेक तर नाम एउटै कसरी ? जवाफ त पाउँछन् तर असली वैद्यनाथ बाजेको पेडा पसल पहिचान गर्नै हम्मेहम्मे हुन्छ ।’ ‘बरमझियाको पेडा’ धेरै नेपालीले सुनेकै नाम हो । मधेस प्रदेशको पूर्वी सिमाना पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका– २ मा अवस्थित बरमझिया यही ‘पेडा’ का कारण चर्चामा छ । तर यहाँ पहिलो पटक आउनेहरू भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरूको मिल्दोजुल्दो नामले वैद्यनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन् । 

‘धेरै जना वैद्यनाथ बाजेको पेडा पसल चाहर्दै आउँछन्, कतिपय वैद्यनाथ बाजेलाई नै खोज्न आइपुग्छन्’, २० वर्षदेखि तीनै वैद्यनाथ साहको पसलमा काम गरिरहेका कालिगड गोविन्द साहले भने, ‘बाजे नदेखेपछि खिन्न मान्नुहुन्छ । देख्न पाएको भए कति राम्रो हुन्थ्यो भनेर पछुताउनुहुन्छ । के गर्नु ! दैवले खोसेर लगिसक्यो ।’ 

‘पेडा भनेकै वैद्यनाथको’
वैद्यनाथ साह बरमझियामा पेडाको ‘ब्रान्ड’ स्थापित गर्ने व्यक्ति हुन । सुरुमा उनका बुबा अक्कलले गाउँमै चिया पसल सुरु गरेका थिए । त्यही पसलमा छोरा बैजनाथले पनि सघाउँथें । एकपटक उनी कामको सिलसिलामा भारततिर गए । त्यही बेला दूधबाट चियाबाहेक कुराउनी र पेडा बनाउन सकिन्छ भनेर थाहा पाए ।

‘हामीलाई सुनाउनुभएअनुसार भारत भ्रमणमा जाँदा पेडाबारे थाहा पाएर फर्केपछि चिया पसलमा आउने दूधबाट कुराउनी र पेडा बनाउन थाल्नुभएको थियो । २०१५/१६ तिर त्यसलाई व्यावसायिक रूप दिनुभएको हो,’ हाल बाजेको बिडो थामिरहेका नाति विवेक साहले भने, ‘चिया पसल हाम्रो बुढो हजुरबुबाले धेरै पहिलेदेखि नै चलाइरहनुभएको थियो । बाजेले त्यसैमा पेडाको व्यापार गर्न थाल्नुभयो । अहिलेको स्थानमा त पूर्वपश्चिम राजमार्ग खुलेपछि मात्रै व्यापार सुरु गरिएको हो ।’

समय क्रममा स्थानीयमा पेडाप्रतिको रुचि बढ्दै गयो । राजमार्गमा आवतजावत बाक्लिएपछिबरमझियाकोपेडाको महिमा पूर्वपश्चिम यात्रा गर्नेहरू सँगै देशभर पुग्यो । पसल थपिए, बजार बढ्दै गयो । बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो ।

‘पसल खोलेर बसेका अधिकांशले बाजेबाटै काम सिकेका हुन् तर नाम फरक राखे पनि त हुन्थ्यो । अहिले त हाम्रो पसल नै ओझेलमा पर्ने गरी ठूलाठूला अक्षरमा नाम लेखेका छन् । यसले ग्राहकहरूलाई अल्मल्याउने काम भएको छ,’ विवेकको गुनासो छ, ‘नामले मात्रै त व्यापार चल्ने होइन, बरु ग्राहकहरू अलमलमा पर्छन् । अस्वस्थ प्रतिस्पर्धा बढ्छ ।’  

‘पेडा भनेकै वैद्यनाथ बाजेको’ भन्ने भाष्य स्थापित गरेका साह अहिले हामीमाझ छैनन् । उनको ११ वर्षअघि २०६९ साउन १८ गते मृत्यु भइसक्यो । त्यसपछि पसलको नाममा बैजनाथ झुण्डयाउने चलन झनै बढेको छ । बाजेको मृत्युपछि दुई छोरामध्ये कान्छो तर्फका जेठो नाति विवेकले व्यापार सम्हालिरहेका छन् ।

विवेकको हार्डवेयर पसल पनि छ तर पेडा पसलमा बस्नुको आनन्द नै छुट्टै हुने उनको अनुभव छ । भन्छन्, ‘पूर्व मेची देखि पश्चिम महाकालीका मान्छेहरू आउँछन् । तीमध्ये पहिलो पटक आएका धेरै जना अरुलाई सोध्दैखोज्दै पसलमा आइपुग्छन् । बाजे, पेडा, आम्दानी, छ्यापछ्याप्ती खुलेका पसलबारे बुझ्न खोज्छन् । त्यसैले व्यापार र चिनजान दुबै हुन्छ, यसैमा आनन्द लाग्छ ।’ 

साहलाई आफ्नो बाजेको नाममा ठूलाठूला होर्डिङबोर्ड सहित खुलेका पसलहरू देख्दा आनन्द लाग्छ तर जब ग्राहकले तपाईंको पसल खोज्नै मुस्किल भयो भनेर सुनाउँछन् तब नरमाइलो लाग्छ । ‘कहिलेकाँही आफैँ पनि बाहिर निस्केर हेर्छु मेरै पसल बिर्साउने गरी बाजेको नाममा पसल खुलेका छन् । बाजेको निधनपछि त नाम मात्रै होइन ‘असली पेडा पसल’ आफ्नै हो भने जसरी बोर्डमा बाजेको तस्वीर पनि राख्न थालियो,’ उनले भने, ‘अहिले भने हामीले पसल अगाडि बाजेको सालिक निर्माण गरेका छौ । त्यसले पसल पहिचानमा केही सहज त भएको छ तर फेरि त्यही पनि नक्कल गर्लान् कि भन्ने पीर छ ।’ 

एक व्यक्तिले एउटा पसलबाट सुरु गर्नुभएको पेडा व्यापार अहिले एक सयभन्दा बढीले सुरु गरेका छन् । ती पसलहरूमा सयौंले रोजगारी र स्थानीय दूध उत्पादक किसानले बजार पाएका छन् । संस्थापक वैद्यनाथ बाजेको पसलमा मात्रै दैनिक पाँच सय लिटरसम्म दूधको खपत हुने गरेको छ । यहाँ सप्तरी, सिरहा, सुनसरी लगायतका जिल्लाबाट दूध सङ्कलन हुने गरेको स्थानीय व्यापारीहरूको भनाइ छ ।  

बाजेको चिन्ता
बरमझियामा वैद्यनाथ बाजेको नाम बिनाका पसल सायदै छन् । तिनै पसलको नाममा भइरहेको व्यापारले सयौँ परिवारको रोजीरोटी चलिरहेको छ । उनी जीवितै हुँदा चलेको यो चलन उनको अनुपस्थितिमा अहिले झनै बढेको छ । पाँच वर्षअघि व्यापार सुरु गरेका जन्नत मन्सुरीले पनि वैद्यनाथ बाजेको नाम राखेरै पसल सुरु गरेका छन् ।

‘सबैले पसलको बोर्डमा वैद्यनाथ बाजेको नाम ठूल्ठूला अक्षरमा लेख्नुभएको छ । मैले मात्रै उहाँको नाम छुटाएमा अपमान गरेको जस्तो होला भनेर राखेको हो,’ मन्सुरीले भने, ‘अरु स्वार्थ त के हुन्थ्यो र ? नामले मात्रै व्यापार चल्ने होइन ।’ 

वैद्यनाथ बाजेले देखाएको बाटो पछ्याउँदा अहिले आफ्नै देशमा केही गरेर खान सकिएको मन्सुरीको कथन छ । आफू मात्रै होइन अरु तीन जनालाई काम दिएर उनीहरूको घरमा पनि चुल्हो बाल्ने काम यही पसलबाट भएको मन्सुरीले बताए ।

‘अहिले बेमौसममा पनि एक सय २० लिटर दूध किन्छौँ तर सिजनमा त तीन सय लिटरसम्म किन्नुपर्छ । सोच्नुस् त त्यसमा कतिको परिश्रम र रोजिरोटी जोडिएको छ,’ मन्सुरीले भने, ‘स्थानीयस्तरमा रोजगारी सिर्जना गरिरहेका हामीलाई प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गरिन्छ । मिसावट हुन्छ भनेर हल्ला फैलाइन्छ, सबैको जिम्मा लिन सकिदैन तर हामीले इमान्दारितापूर्वक आफ्नो कर्म गरिरहेका छौ । नभए गुणस्तर नाप्ने निकायहरू पनि छन्, परीक्षण गरे पनि भयो । किन बदनाम गराउनु !’ 

विवेक साहका अनुसार वैद्यनाथ बाजे जीवित हुँदा पनि यस्तै हल्ला चल्थ्यो । त्यसैकारण एकपटक आफ्नो नामको दुरुपयोग हुने चिन्ताले बाजेले स्थानीय प्रशासनमा लिखित निवेदनसहित आफ्नो नाम हटाउन र नयाँ खोल्नेलाई नाम राख्न नदिन आग्रह गरे । प्रशासनबाट हुबहु नाम नभएकाले केही गर्न नसकिने जवाफ पाएपछि त्यो प्रचलन रोकिएन, बरु निरन्तर बढिरहेको छ । ‘हरेक पसलमा बाजेको नाम हुनु हाम्रो लागि पनि गौरव र उहाँको योगदानको सम्मान पनि हो तर बाजेलाई एउटै चिन्ता थियो कि कतै आफ्नो नाम बदनाम हुने त होइन ? अहिले हामीलाई पनि त्यही चिन्ता छ,’ विवेकले भने । 

बेलाबखत पेडामा पीठो तथा बिस्कुट मिसाइएको, धेरै दिनको बासी पेडा बेचेको जस्ता हल्ला नसुनिएका होइनन् । यस्तो सुन्दा कालिगढ डोमी साहको मन कटक्क खान्छ । ‘यही व्यवसायबाट हामी सबैको चुल्हो बलेको छ । बरमझियाको पेडा भनेर नेपाल र भारतमा समेत इज्जत छ । बीसौं वर्ष यसैमा बिताएका छौ । नराम्रो सुनेपछि त मन खिन्न भइहाल्छ नि,’ डोमीले भने, ‘बाजेसँगै हामीले वर्षौ लगाएर कमाएको नाम बदनाम हुन एक दिन पनि लाग्दैन । त्यसैले सबै जनाले राम्रोसँग व्यापार गरे त हुन्थ्यो । तर खै! कसको नियत कस्तो हुन्छ ? सबै इमानदार कहाँ हुन्छन् र ?’ 

नाति विवेक भने पेडामा अन्य चिज मिसाउँदा लागत बढ्ने र त्यस्तो पेडा चाँडै खपत नभएमा गुणस्तर ह्रास भई लगानी खेरजाने हुँदा कसैले गलत काम गर्न नसक्ने विश्वास गर्छन् । यदि कसैले गलत काम गरेको शङ्का लागेमा सरोकारवाला निकायले अनुगमन र प्रयोगशालामा परीक्षण गरी समस्या समाधान गर्नुपर्ने तर एकाध व्यक्ति र घटना देखाएर बरमझियाको बेइज्जत नगर्न उनले आग्रह गरे । 

पेडाको ब्रान्ड स्थापना गरेका बैजनाथका दुई छोरा छन् । त्यसमध्ये कान्छोतर्फका एक नातिले बाजे वैद्यनाथको व्यापार सम्हालिरहेका छन् । रासस 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:१७
Weather Update